काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विगत ६ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको छ । निगमले आफ्नो इतिहासमै पहिलोपटक खतराजन्य पदार्थ (Dangerous Goods) ओसारपसार गर्ने वायुसेवाको रुपमा अनुमति प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रिय सहभागितामा त्यस्तो अनुमति पाएको बताइएको छ ।
खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (ICAO) Annex-18 तथा DOC 9284 मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरु पूरा गरेपश्चात् ने.वा.नि.का A-320 र A-330 जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई धन्यवाद व्यक्त गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित एक कार्यक्रमकाबीच मन्त्री आलेको समुपस्थितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र (Dangerous Goods Carrier Certificate)निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गर्नुभएको छ ।
कार्यक्रममा मन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाण पत्र उच्चतम् कार्यको प्रतिफल र सह्रानीय कार्य भएको उल्लेख गर्नुहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरण र निगम दुबै संस्थालाई बधाई दिनुभयो । साथै उहाँले नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पु¥याएरै छाड्ने बताउनुभयो । उहाँले अहिले पनि ५० अर्वभन्दा पनि बढि ऋण रहेको भन्दै निगमको खर्च घटाएर नाफामा लैजाने धारणा राख्नुभयो । त्यस्तै मन्त्री आलेले अन्तराष्ट्रिय मापदण्ड पुरा गरेर खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र पाएको भन्दै व्यवसायीहरुलाई सिधै सामान ल्याउन सहज हुने र राज्यलाई पनि नाफा हुने उल्लेख गर्नुभयो ।
विगत ६३ वर्षदेखि हालसम्म निगमले General Cargo ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरुमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरुको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउनेछ । निगमको A-330 जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेकोमा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरुको ओसारपसारमा सहजता भई उक्त विमानहरुको उच्चतम् सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुनेमा निगम विश्वस्त रहेको बताइएको छ । नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीेले निगममाथि आएका दायित्व गम्भीर भएर पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
https://youtu.be/I1TCVeXiyu0