काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
शुक्रबार अदालतले अर्याललाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई चार दिनको म्याद दिएको हो।
भारतको राजधानी नयाँदिल्लीबाट पक्राउ परेका अर्याललाई सिलिगुडी हुँदै बिहीबार पूर्वी नाका भएर नेपाल ल्याइएको थियो। त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि शुक्रबार उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् ।
यसअघि तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जना पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध ठगी र संगठित अपराधको कसुरमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
अदालतबाट म्याद थप भएसँगै प्रहरीले अर्यालमाथिको अनुसन्धानलाई थप अघि बढाउने भएको छ।




















