काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ता, छलफल तथा अवलोकनबारे पार्टी सभापति रवि लामिछानेलाई जानकारी गराएका छन्।
शुक्रबार भएको भेटमा आचार्यले आफ्नो नेतृत्वमा चीन गएको २० सदस्यीय टोलीको भ्रमणका उपलब्धि र अनुभवबारे सभापति लामिछानेलाई ब्रिफिङ गरेका हुन्।
आचार्य नेतृत्वको टोली नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान, चच्याङ र बेइजिङको भ्रमण गरी नोभेम्बर २६ मा नेपाल फर्किएको थियो।
भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसँग भएको उच्चस्तरीय भेटवार्तालाई टोलीले विशेष महत्त्व दिएको थियो।
त्यसैगरी, केन्द्रीय तहदेखि काउन्टी तहसम्मका नेताहरूसँग भएका संवादमा दुई पार्टीबीचको सम्बन्ध विस्तार, आपसी राजनीतिक विश्वास अभिवृद्धि, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको आचार्यले जानकारी गराएका थिए।
भ्रमण टोलीले चीनका विभिन्न उद्योग तथा व्यवसायको अवलोकन गर्नुका साथै विपद्पूर्व तयारी र विपद्पछिको व्यवस्थापन रणनीतिबारे समेत अध्ययन तथा अन्तरक्रिया गरेको थियो।
भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित क्षेत्रबारे पनि छलफल भएको थियो।
भ्रमणबाट प्राप्त अनुभव र सिकाइलाई पार्टीको आन्तरिक काम तथा देश विकासका गतिविधिमा उपयोग गर्न सभापति लामिछानेले टोलीलाई निर्देशन दिएका छन्। उनले उच्चस्तरीय राजनीतिक संवाद र विभिन्न क्षेत्रको अवलोकनबाट प्राप्त ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।




















