काठमाडौं । नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेसले विज्ञप्ति जारी गरेर उक्त निर्णय फिर्ता लिन माग गरेको छ।
कांग्रेसले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो।
सरकारले सुकुम्बासीका घर भत्काउँदा व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको, महिनौँसम्म अनिश्चिततामा राखेको र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोजेको कांग्रेसको भनाइ छ।
सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसले जनाएको छ। नागरिकको पीडा बुझ्ने करुणा र मानवीय संवेदनाको सरकारमा गम्भीर अभाव देखिएको कांग्रेसको टिप्पणी छ।
‘राज्य नागरिकको अभिभावक हो। घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन,’ विज्ञप्तिमा भनिएको छ। कांग्रेसले होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।
भूमिहीन तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्ने कांग्रेसको धारणा छ। सुकुम्बासीको समस्या समाधान नागरिकलाई हटाएर नभई उनीहरूको समस्या सम्बोधन गरेर गर्नुपर्ने कांग्रेसले जनाएको छ।




















