काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्ने बताएका छन् ।
बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा उनले संविधान र कानुनअनुसार देश सञ्चालन हुनुपर्ने उल्लेख गर्दै कसैलाई पनि संविधान मिच्ने छुट नभएको बताए ।
पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफ्नो पूर्ण कार्यकाल काम गर्न पाउनुपर्ने उनको भनाइ थियो ।
उनले प्रदेशसभा निर्वाचन मध्यावधि नभएको अवस्थामा नियमित प्रक्रियाअनुसार निर्वाचन हुनुपर्ने बताए । निर्वाचनमा खर्च हुने तर्क गरेर चुनाव टार्न नमिल्ने उल्लेख गर्दै उनले लोकतन्त्रमा निर्वाचनलाई खर्चसँग मात्रै जोडेर हेर्न नहुने धारणा राखे ।
संविधान र कानुनअनुसार नै देश सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले निर्वाचन खर्च कम गर्ने उद्देश्यले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक मंसिरमा गर्न सकिने प्रस्तावसमेत गरे ।




















