काठमाडौं । मोरङको कानेपोखरी ६ मा १४ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षे ससुरा पक्राउ परेका छन् भने सोही घटनालाई लिएर पीडित बालिकालाई कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने २३ वर्षे श्रीमान् पक्राउ परेका छन् । बालिकाको सानो बच्चा समेत भएको भाइरल भिडियोमा देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति किशोरीलाई घरमा ससुरा जयराम दर्जीले जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ पक्राउ गरेको थियो ।
उनीविरुद्ध मंसिर १ गते अदालतबाट जबरजस्ती करणी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको र सोही घटनालाई लिएर किशोरीका पतिले आफ्नी आमालाई समेत छेउमा राखी पीडित किशोरी (युवककी पत्नी)लाई सोधपुछ गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको पाइएपछि उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसूर र बालविवाह सम्बन्धी कसूरसमेतमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीतिलाई गम्भीरताका साथ अवलम्बन गर्दै कारबाही प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारेको छ।
यसैवीच गृहमन्त्री सुधन गुरुङले समेत सो घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् । महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा र दुर्व्यवहार हाम्रो समाज र सरकारलाई किमार्थ स्वीकार्य नभएको चेतावनी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन् –
“महिला हिंसामा शून्य सहनशीलतास् अपराध गर्नुअघि हजार पटक सोच्नुहोस् १
मोरङको कानेपोखरीमा घटेको अमानवीय घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ, र महिला तथा बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा र दुर्व्यवहार हाम्रो समाज र सरकारलाई किमार्थ स्वीकार्य छैन। कानुन हातमा लिने र जघन्य अपराध गर्ने जोकोहीलाई पनि राज्यले कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनेछ, त्यसैले यस्ता आपराधिक गतिविधि गर्नुअघि प्रत्येक व्यक्तिले हजार पटक सोच्न जरुरी छ। पीडितलाई न्याय दिलाउन र समाजमा शान्ति(सुरक्षा कायम राख्न प्रशासन पूर्ण रूपमा प्रतिबद्ध छ।”




















