काठमाडौं । स्रोत नखुलेको ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौंको ठमेलबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूलाई आज ठमेलबाट पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूको साथबाट नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स (यूएई) का ५५ दिराम बरामद गरेको जनाएको छ ।
बरामद रकम तथा विदेशी मुद्राको स्रोत नखुलेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।




















