काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो। यससँगै प्रहरी महानिरीक्षकमा मनोज केसीले निरन्तरता पाउने भएका छन्।
रिट निवेदनमा उठाइएका विषय प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग सम्बन्धित रहेको तथा शान्ति सुरक्षा कायम गर्ने विषयमा संवेदनशील रहेको आदेशमा जनाइएको छ। त्यसैले यस विषयमा दुवै पक्षको कुरा सुनेर निर्णय गर्नुपर्ने देखिएको भन्दै तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको सर्वोच्चको ठहर छ।
सर्वोच्चले रिट निवेदनको अन्तिम सुनुवाइका क्रममा कानुनी प्रश्नहरूको निरूपण हुने उल्लेख गर्दै विपक्षीहरूलाई लिखित जवाफ पेस गर्न सात दिनको समय दिएको छ। लिखित जवाफ पेस गर्ने अवधि समाप्त भएपछि सात दिनभित्रै पेसीमा चढाई पेस गर्नसमेत आदेश दिएको छ।
सरकारले गत कात्तिक २८ गते केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गरेको थियो। आइजीपी कार्कीलाई भने सरकारले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो।




















