काठमाडौं । नेकपाका नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई राज्य संयन्त्रको दुरुपयोग गरी राजनीतिक प्रतिशोध नलिन चेतावनी दिएका छन्। उनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै आज सत्तामा रहेकाले भोलि अरूले पनि त्यही शैली अपनाउन सक्ने बताएका छन्।
रोल्पाको पाछावाङमा आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पुनले राज्यका निकायलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रवृत्तिले प्रतिशोधको चक्र बढाउने र अन्ततः लोकतान्त्रिक व्यवस्था कमजोर बन्ने बताए।
उनले प्रहरी, प्रशासन, न्यायालय तथा संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिए। प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्ने प्रवृत्तिले राज्यका निकायको निष्पक्षता कमजोर बनाउने उनको भनाइ थियो।
‘प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ। प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ ?’ पुनले प्रश्न गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई समेत बोलाएर छानबिन गर्न सक्ने स्वतन्त्रता हुनुपर्ने उल्लेख गर्दै उनले राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन गर्न नहुने बताए।
दक्षिण एसियाका विभिन्न मुलुकमा राजनीतिक शक्ति र राज्यका निकायबीचको टकरावले अस्थिरता निम्त्याएको उल्लेख गर्दै पुनले लोकतन्त्रमा कुनै पनि निकाय निरंकुश बन्न नहुने बताए।
संसद्ले कानुन निर्माण गर्ने, सरकारले कार्यान्वयन गर्ने र न्यायालयले कानुनको व्याख्या गर्दै नागरिक अधिकारको संरक्षण गर्ने शक्ति सन्तुलन तथा नियन्त्रणको व्यवस्था नै लोकतन्त्रको आधार भएको उनको भनाइ थियो।
राज्यका निकायका गलत काममाथि सञ्चारमाध्यमले प्रश्न उठाउनुपर्ने र जनताले खबरदारी गर्नुपर्ने बताउँदै पुनले लोकतन्त्रमा अन्तिम अधिकार जनतामै निहित रहने उल्लेख गरे। खराब काम गर्ने जनप्रतिनिधिलाई निर्वाचनमार्फत दण्डित गर्न सकिने उनको भनाइ थियो।
‘सधैँ कोही मान्छे जित्दैन, सधैँ कोही सत्तामा पनि हुँदैन । सधैँ कोही प्रतिपक्षमा पनि हुँदैन,’ पुनले भने, ‘आज को पर्यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ।’
लोकतान्त्रिक व्यवस्था र संस्थाहरू कमजोर हुन नदिन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उनले बताए।
कार्यक्रममा पुनले वर्तमान सरकारको कार्यसम्पादनमाथि पनि प्रश्न उठाए। आठ महिना पुग्न लाग्दासमेत किसानले समयमा मल नपाएको, राजधानीमै खाना पकाउने ग्यासका लागि लाइन बस्नुपरेको र विकास खर्च कमजोर रहेको उनले बताए।
विगतमा पाँच प्रतिशतभन्दा कम रहेको महँगी अहिले सात प्रतिशतसम्म पुगेको दाबी गर्दै पुनले जनताको दैनिक जीवनयापन कठिन बन्दै गएको टिप्पणी गरे। सरकारमा रहेका रास्वपाका नेताहरूले यी समस्याको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
‘पहिले हामी सरकारमा हुँदा जनताले प्रश्न गर्थे, अहिले हामी प्रश्न गर्ने ठाउँमा छौँ,’ उनले भने, ‘जनताले नै कसैलाई प्रश्न गर्ने र कसैलाई जवाफ दिने जिम्मेवारी दिएका छन्।’




















