काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन जिनपिङ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति ११ः१५ बजे काठमाडौं आएका थिए। भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा जाँच गर्दा उनीहरूले मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएको अवस्थामा आठ थान गोलाकार अर्धठोस पदार्थ फेला परेको हो ।
बरामद पदार्थ प्लास्टिकको र्यापसहित २ किलो ३४८ ग्राम तौलको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै महिलामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूलाई भन्सार कार्यालयमा बुझाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।




















