काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पूर्वसभापति शेरबहादुर देउवा समूहमा लागेका नेता तथा कार्यकर्तालाई तत्काल अनुशासनको कारबाही गर्न माग गरेका छन्।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै तिमल्सिनाले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानअनुसार कारबाही गर्नुपर्ने बताएका हुन्।
उनले पार्टीको टिकट, झन्डा र कार्यकर्ताको योगदानबाट निर्वाचित भएका कतिपय जनप्रतिनिधि पार्टीको वैधानिक महाधिवेशन तथा विधि र प्रक्रियामा सहभागी नभई पार्टी नीति र हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाए।
‘पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोगमार्फत पदमुक्त गर्न जोडदार माग गर्दछु,’ उनले बैठकमा भने।
तिमल्सिनाले गत प्रतिनिधिसभा निर्वाचनमा रुख चिह्नमा मतदान नगर्ने र अरूलाई पनि मतदान गर्न नलगाउनेहरू अहिले सोही चिह्न आफूलाई चाहियो भन्दै विवाद गरिरहेको भन्दै विडम्बना व्यक्त गरे।
उनले कांग्रेसको ऐतिहासिक नाम, चारतारे झन्डा र रुख चिह्न अनधिकृत समूहले दुरुपयोग गरिरहेको आरोप लगाउँदै त्यसले मतदाता तथा कार्यकर्तामा भ्रम सिर्जना गरेको बताए।
पार्टीको वैधानिक पहिचान र विधानको रक्षा गर्न निर्वाचन आयोगमार्फत तत्काल कानुनी तथा राजनीतिक पहल गरी अनधिकृत गतिविधि रोक्न पनि उनले माग गरेका छन्।
उनका धारणा र प्रस्तावहरू जस्ताको तस्तै-
सिङ्गो राष्ट्रको ध्यान केन्द्रित हाम्रो केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत प्रस्तावहरू तथा पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक जनसरोकारका विषयमा मेरा धारणा र प्रस्तावहरू बुँदागत रूपमा राख्न चाहन्छु:
१. सङ्गठनको आगामी कार्यभार (‘हामी तयार छौँ अभियान’)
१. क.) १५औँ महाधिवेशनपछिको नयाँ ऊर्जासँगै आन्तरिक तिक्तता बिर्सेर तल्लो तहसम्म एकताको सन्देश दिनुपर्छ। पार्टीको ‘हामी तयार छौँ अभियान’ लाई परिणाममुखी बनाउन वडा तहसम्म स्पष्ट कार्ययोजना र कार्यविभाजनसहित पार्टीपंक्ति पूर्ण रूपले परिचालन गर्नुपर्दछ।
१. ख.) भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको सबलीकरण र परिचालन:
नेविसंघ , तरुण दल , महिला सङ्घ , किसान महासङ्घ , ट्रेड युनियन,दलित सङ्घ,लोकतान्त्रिक खेलकुद सङ्घ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू पार्टीका मेरुदण्ड हुन्।
लामो समयदेखि तदर्थवाद र अपूर्ण अवस्थामा रहेका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिई ३ देखि ६ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका तय गर्नुपर्दछ । साथै, भातृ एवम् शुभेच्छुक संस्था लाई औपचारिकतामा मात्र सीमित नराखी क्षेत्रगत कार्य विभाजन सहित हामी तयार छौँ अभियान, प्रशिक्षण,गलत सरकारी रवैयाको सशक्त प्रतिरोध र चुनावी मोर्चामा सक्रिय परिचालन गर्नुपर्दछ ।
२. भोटेकोशी र बुढीगण्डकी विपद् पुनःस्थापना तथा पुनर्निर्माण:
२. क.) भोटेकोशी र बुढीगण्डकी क्षेत्रलगायत बाढीपहिरो प्रभावित नागरिकहरूको पुनःस्थापना र पुनर्निर्माणमा सरकारको उपस्थिति अत्यन्तै सुस्त छ। पीडित परिवारलाई तत्काल उचित राहत, सुरक्षित आवास सहित पुनर्निर्माण,शिक्षा,स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि ठोस दबाब सिर्जना गर्नुपर्छ।
२. ख.) तातोपानी नाका सन्चालन: राजधानीसँग नजिक रहेको रणनीतिक महत्त्वको सिन्धुपाल्चोकको तातोपानी नाका र अरनिको राजमार्ग बारम्बार अवरुद्ध हुँदा राज्यले ठुलो राजस्व गुमाएको छ भने स्थानीय व्यवसायी, मजदुर र ढुवानीकर्मीको रोजीरोटी खोसिएको छ। विपदपछि रसुवागढी लगायत उत्तरी नाका बन्द भएको सन्दर्भमा चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक समन्वय गरी नाका पूर्ण क्षमतामा सञ्चालन गर्न र अरनिको राजमार्गको दिगो स्तरोन्नति गर्न पहल गर्नुपर्दछ।
३. विस्थापित सुकुम्वासी व्यवस्थापन र जनजीविकाका सवाल:
विकल्पबिना गरिने उठीबासले विस्थापित सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरूको बिचल्ली भएको छ। वास्तविक सुकुम्वासीहरूको पहिचान गरी मानवीय संवेदनशीलताका साथ उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्छ।
बढ्दो महँगी, बेरोजगारी र राजमार्गहरूको दुरवस्थाले नागरिकको दैनिकी कष्टकर बनेको छ। जनजीविकाका यी सवालहरूमा पार्टी जनताको बुलन्द आवाज बन्नुपर्छ।
४. सरकारका पछिल्ला गतिविधि र प्रमुख प्रतिपक्षीको भूमिका:
प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले सुशासन, पारदर्शिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र विधिको शासनका पक्षमा तथा संवैधानिक निकाय,अदालत, राज्यका संयन्त्र,लोकतन्त्रका आधारभूत स्तम्भ एवम् मूल्य र मान्यताको संरक्षण र सबलीकरणको निम्ति संसद् र सडकबाट सशक्त खबरदारी गर्नुपर्दछ ।
सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादा विपरीतका कमजोरीहरूमाथि स्पष्ट दृष्टिकोण राखेर प्रतिरोध गर्न ढिला गर्नु हुँदैन।
५. स्थानीय तह निर्वाचनको तयारी:
-परिचालन रणनीति: स्थानीय तह निर्वाचनका लागि वडा तहसम्म सङ्गठन परिचालन र पारदर्शी मापदण्डका आधारमा योग्य उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाउने ।
-एकता र योग्य उम्मेदवार: गुटबन्दी अन्त्य गरी एकताबद्ध हुने तथा स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई समयमै टिकट दिने।
-सङ्गठन र युवा आकर्षण: वडा तहसम्म घरदैलो अभियान चलाउँदै युवा मतदातालाई पार्टीमा जोड्ने
-व्यावहारिक घोषणापत्र: विगतका कमजोरी सच्याउने प्रतिबद्धतासहित शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनका स्पष्ट योजना बनाउने ।
७. विविध:
-७. क.) पार्टीको नाम, झन्डा र चुनाव चिह्नको रक्षा:
-गत प्रतिनिधि सभा निर्वाचनमा रुख चिन्हमा मतदान नगर्ने र नगर्न लगाउनेहरुद्वारा नै अहिले रुख चिन्ह आफैलाई चाहियो भन्दै मच्चाइएको कोहोलो विडम्बना पूर्ण छ ।
-नेपाली कांग्रेसको ऐतिहासिक नाम, चारतारे झन्डा र चुनाव चिह्न ‘रुख’ को अनाधिकृत रूपमा अनधिकृत समूहबाट भइरहेको दुरुपयोग अत्यन्तै गम्भीर छ। यसले मतदाता र कार्यकर्तामा भ्रम सिर्जना गरेको छ।
-पार्टीको वैधानिक पहिचान र विधानको रक्षा गर्न निर्वाचन आयोगमार्फत अविलम्ब कानुनी तथा राजनीतिक पहलकदमी लिई यस्ता अनधिकृत गतिविधिलाई तत्काल रोक्नुपर्दछ ।
७. ख.) जनप्रतिनिधि र पार्टी बिचको सम्बन्ध:
– पार्टीको विचार, घोषणापत्र र चिन्ह बाट निर्वाचित हुने जनप्रतिनिधि र पार्टीबीचको सुमधुर सम्बन्ध तथा निरन्तर संवादले नै नीति र कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउँछ।
– पार्टीको साङ्गठनिक शक्ति र जनप्रतिनिधिको पदीय जिम्मेवारी एक-अर्काका परिपूरक हुन्, जसको सौहार्दपूर्ण सहकार्यले मात्र जनताको हित र विकास सम्भव हुन्छ।
– पार्टीको टिकट, झन्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि,प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्।
पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु।




















