काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद थप चर्किरहेका बेला पूर्वसभापति शेरबहादुर देउवा समूहको बैठक चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ।
बैठकमा १५औँ महाधिवेशन तयारी समितिका सदस्यहरू सहभागी छन्। १४औँ महाधिवेशनबाट निर्वाचित देउवानिकट केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद तथा पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं पदाधिकारी सहभागी छन्।
देउवा समूहले आगामी मंसिर २१ गतेदेखि समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ।
यसअघि सानेपामा बसेको संस्थापन पक्षको बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीको हितविपरीत गतिविधिमा संलग्न हुनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए।
थापाले कारबाहीको चेतावनी दिएको भोलिपल्टै देउवा समूहको बैठक बसेको हो। देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेका बेला कांग्रेसभित्रको विवाद थप पेचिलो बनेको छ।




















