स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस आतुर छ : महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न कांग्रेस तयार रहेको बताएका छन् । उनले सरकारले स्थानीय निर्वाचनको मिति सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार धादिङबेसीमा नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले स्थानीय निर्वाचनलाई कुनै पनि हालतमा पछि सार्न नहुने बताए । निर्वाचनलाई जोखिममा पार्ने गतिविधि स्वीकार्य नहुने भन्दै उनले समयमै निर्वाचन सुनिश्चित गर्न सरकारसँग माग गरे ।
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउने विषय उठे पनि सरकारले त्यसका लागि आवश्यक कानुनी तथा राजनीतिक प्रक्रिया अघि नबढाएको पौडेलको भनाइ थियो । यसले निर्वाचनलाई अनिश्चित बनाएको भन्दै उनले सरकार निर्वाचन टार्न खोजिरहेको हो कि भन्ने आशंका व्यक्त गरे ।
उनले निर्वाचनलाई मितव्ययी बनाउन स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्न सकिने धारणा पनि राखे । कानुनले अनुमति दिएमा दुवै निर्वाचन एकसाथ गर्दा कांग्रेसलाई कुनै आपत्ति नहुने उनले स्पष्ट पारे ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै नयाँ निर्वाचन सम्पन्न भइसक्नुपर्ने पौडेलले बताए ।




















