काठमाडौं । नेकपाका नेता वर्षमान पुनले मलेसिया वैदेशिक रोजगारी ठगी प्रकरणमा तत्कालीन श्रममन्त्री तथा वर्तमान सभामुख डीपी अर्यालमाथि छानबिन नभएको भन्दै प्रश्न उठाएका छन् । सरकारले आफू निकटका व्यक्तिलाई उन्मुक्ति दिएर फरक मत राख्नेहरूलाई मात्रै लक्षित गरी कारबाही अघि बढाएको उनको आरोप छ ।
रोल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले उक्त प्रकरणमा सात जना मन्त्री संलग्न रहेको देखिए पनि केही व्यक्तिलाई मात्रै छानेर कारबाही गरिएको बताए । ठगी प्रकरण सुरु हुँदा जिम्मेवारीमा रहेका मन्त्रीदेखि बीचका मन्त्रीहरूमाथि समेत छानबिन नभएको उनको भनाइ थियो ।
उनले तत्कालीन श्रममन्त्री अर्यालमाथि अनुसन्धान नगरिएको विषय उठाउँदै छानबिन निष्पक्ष नभएको आरोप लगाए ।
पुनले सरकारको कारबाही प्रक्रिया सुशासनभन्दा पनि प्रतिशोधमा केन्द्रित भएको दाबी गरे । आफूसँग फरक मत राख्ने व्यक्ति तथा पुराना राजनीतिक दलका नेता निकट निजी क्षेत्रका व्यक्तिलाई समेत त्रसित बनाउने काम भइरहेको उनको आरोप थियो ।
‘यो सुशासन होइन । यो निर्देशित छानबिन या निर्देशित ढंगले प्रतिशोध लिने रूपमा गइराखेको छ,’ पुनले भने ।
उनले अनुसन्धान र कारबाही निष्पक्ष हुनुपर्ने भन्दै राजनीतिक आस्थाका आधारमा कसैलाई लक्षित गर्ने र कसैलाई उन्मुक्ति दिने प्रवृत्ति गलत भएको बताए ।




















