काठमाडौं । भारतको दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याउने तयारी गरिएको छ । मलेसिया जाने नेपाली श्रमिकमाथि अतिरिक्त शुल्क असुली गरी ठगी गरेको प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार अर्याललाई दिल्लीमा पक्राउ गरी जहाजमार्फत बागडोगरा विमानस्थल पुर्याइएको थियो । त्यहाँबाट झापा ल्याएर भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी गरिएको छ ।
अर्याललाई आजै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गर्ने प्रक्रिया अघि बढाइने स्रोतले जनाएको छ ।
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा अतिरिक्त रकम असुली गरिएको प्रकरणमा अर्यालमाथि पनि अनुसन्धान भइरहेको छ । उनी तत्कालीन समयमा श्रम मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए ।
यस प्रकरणमा अनुसन्धानका क्रममा विभिन्न पूर्वमन्त्री तथा उच्च सरकारी अधिकारीहरू पक्राउ परिसकेका छन् । श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरिएको आरोपमा प्रहरीले अनुसन्धानलाई थप अघि बढाएको छ ।




















