काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच पाँच घण्टा लामो भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमण, आगामी निर्वाचन, पार्टीको प्रशिक्षण अभियान, सरकारका कामकारबाही तथा संसद् अधिवेशनलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । त्यसैगरी, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुवै नेताबीच कुराकानी भएको बताइएको छ।
रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियानका विषयमा समेत छलफल भएको थियो। यसका साथै सरकारका कामकारबाही, मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा दुवै नेताबीच विचारविमर्श भएको सचिवालयले जानकारी दिएको छ।
भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ।




















