काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित र सरोकारका विषयमा उपलब्धिमूलक हुन नसकेको टिप्पणी गरेका छन्।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सीमा विवाद तथा अन्य महत्वपूर्ण राष्ट्रिय मुद्दामा ठोस उपलब्धि हासिल हुन नसकेको बताएका हुन्।
उनले विगतमा राष्ट्रियताको विषयमा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको सीमा विवादसमेत प्रभावकारी रूपमा उठाउन नसकेको आरोप लगाए। प्रधानमन्त्रीको भ्रमणले आफूहरूलाई लज्जित बनाएको उनको टिप्पणी थियो।
पोखरेलले काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर राजनीतिक नेतृत्वमाथि व्यङ्ग्य गर्ने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भने नेपालको हित र सरोकारका विषयमा पर्याप्त कुरा राख्न नसकेको बताए।
उनका अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत सीमा विवादका विषयमा भ्रमणका क्रममा छलफल हुन सकेन। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उनले उल्लेख गरे।
त्यस्तै, नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि एमाले नेतृत्वको सरकारका समयमा गठन भएको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेको विषयमा पनि प्रधानमन्त्रीले प्रभावकारी पहल गर्न नसकेको पोखरेलको आरोप छ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा समेत भारत भ्रमणबाट ठोस सहमति हुन नसकेको उनले बताए। विगतमा हवाई रुट नपाउँदा समस्या भएको र अहिले उडानको उचाइसम्बन्धी विषयले थप जटिलता निम्त्याउन सक्ने उनको भनाइ थियो।
यसैगरी, भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त भएको विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि पोखरेलले प्रश्न उठाएका छन्। विगतमा ऋणले देशलाई आर्थिक संकटमा पुर्याएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले अहिले ऋण प्राप्तिलाई उपलब्धिका रूपमा प्रचार गर्नु विरोधाभासपूर्ण रहेको उनको टिप्पणी छ।
पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि र त्यसबाट नेपालको राष्ट्रिय हितमा परेको प्रभावबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरेका छन्।




















