काठमाडौँ। लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन भइरहेका पसल तथा व्यापारिक संरचना २४ घण्टाभित्र हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
कोषले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप र अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा अनुमति नलिई सञ्चालन गरिएका पसल हटाउन आग्रह गरेको हो।
कोषका अनुसार स्वीकृतिबिना राखिएका पसल तथा संरचना सूचना जारी भएको २४ घण्टाभित्र हटाई लैजानुपर्नेछ। गत भदौ १९ गतेदेखि लागू हुने गरी जारी गरिएको सूचनामा तोकिएको समयसीमाभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
लुम्बिनीको गुरुयोजना तथा पवित्र क्षेत्रको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउन कोषले निषेधित क्षेत्रमा रहेका अनधिकृत पसल हटाउन निर्देशन दिएको जनाएको छ।




















