काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्तीबाट हटाइएका वास्तविक सुकुमवासीको दिगो बसोबासको व्यवस्था हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विस्थापित सुकुमवासीको आवास व्यवस्थापनमा महिनौँ बितिसक्दा पनि ठोस टुंगो लाग्न नसक्नु दुःखद भएको बताएका छन्।
उनले अल्पविकसित मुलुकमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र कमजोर हुँदै जाँदा वैकल्पिक रोजगारीको खोजीमा श्रमिकहरू सहर पस्न बाध्य हुने र त्यही क्रममा आवासविहीन हुने गरेको उल्लेख गरेका छन्।
भट्टराईका अनुसार सहरमा बसोबास गर्ने सुकुमवासी तथा श्रमिकहरूले सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा र ढुवानीलगायतका क्षेत्रमा आवश्यक श्रम उपलब्ध गराएर सहरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका हुन्छन्।
उनले सुकुमवासी समस्या कुनै एक देश वा सहरमा मात्र सीमित नभई सहरीकरणको ऐतिहासिक प्रक्रियासँग जोडिएको विषय भएको टिप्पणी गरेका छन्। यस्तो आर्थिक, सामाजिक तथा मानवीय समस्याको समाधान आधुनिक राज्यले विधिसम्मत र न्यायसंगत ढंगले गर्नुपर्ने उनको धारणा छ।
‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनैसक्दैन,’ भट्टराईले लेखेका छन्।
उनले सुकुमवासी समस्यालाई सहरीकरणका क्रममा उत्पन्न हुने प्रक्रियाका रूपमा बुझेर गरिब तथा आवासविहीन नागरिकलाई सहरभित्रै सम्मानजनक आवासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
साथै, संविधान र समावेशी लोकतन्त्रको मर्मअनुसार सुकुमवासी समस्याको दिगो समाधान खोज्नुपर्ने उनको भनाइ छ।




















