काठमाडौँ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनी व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका छन्। उनीहरूले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको नैतिक जिम्मेवारीका आधारमा तत्काल राजीनामा माग गरेका छन्।
शुक्रबार प्रतिष्ठानको प्रांगणमा प्लेकार्डसहित प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग कुनै छलफल नगरी नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानसम्बन्धी अध्यादेश र नियमावली ल्याइएको भन्दै आपत्ति जनाएका हुन्।
कर्मचारीहरूले ऐन तथा नियमावली निर्माणका क्रममा आफूहरूले दिएका सुझावलाई बेवास्ता गरिएको आरोप लगाउँदै नयाँ कानुनी व्यवस्था वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताएका छन्।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावलीले विज्ञान क्षेत्रको विकास तथा संस्थागत सुदृढीकरणमा सहयोग नगर्ने धारणा व्यक्त गरे।
उनले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने र दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिए। देशको विज्ञान तथा अनुसन्धानको भविष्य सुनिश्चित गर्ने गरी विज्ञान नीति निर्माण हुनुपर्नेमा पनि उनले जोड दिए।
कर्मचारीहरूले विज्ञानमैत्री नभएको भन्दै अध्यादेश, २०८३ तथा त्यससँग सम्बन्धित नियमावली तत्काल खारेज गर्न माग गरेका छन्। साथै अध्यादेश र नियमावलीका नाममा भइरहेको मनोमानी रोक्न तथा संस्थामाथि मन्त्रालय र मन्त्रीको अनावश्यक दबाब अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।
त्यसैगरी, सरोकारवालाको सहभागितामा विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्न र प्रतिष्ठानको सक्षम नेतृत्व खुला विज्ञापन तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट चयन गर्नुपर्ने मागसमेत कर्मचारीहरूले अघि सारेका छन्।
अध्यादेशको विषयलाई लिएर नास्टका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको नयाँ कानुनी व्यवस्था र संस्थागत संरचनाबारे विवाद चर्किएको छ।




















