काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार शीतल निवास पुगेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको बताइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरी शीतल निवासबाट बाहिरिएलगत्तै प्रधानमन्त्री शाह त्यहाँ पुगेका हुन्।
यसअघि भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै प्रधानमन्त्री शाहको आलोचना भएको थियो। भारत भ्रमणबाट फर्किएको पनि पाँच दिनपछि उनले राष्ट्रपतिसँग भेट गरेका हुन्।
यसैबीच, प्रधानमन्त्री शाहले बिहीबार रास्वपा सभापति लामिछानेसँग लामो छलफल गरेका थिए।
शुक्रबार राष्ट्रपति पौडेलसँगको भेटमा लामिछानेले सरकारका कामकारबाही, संसद् अधिवेशन, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।
प्रधानमन्त्री र रास्वपा सभापति दुवैले एकै दिन राष्ट्रपति पौडेलसँग भेट गरेपछि उनीहरूको भेटघाटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।




















