काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुको टोली फागुन २९ चैत ५ गतेसम्म मित्रराष्ट्र बंगलादेश र पाकिस्तानको भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता भएको छ ।
सो भ्रमणमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० जना बंगलादेश गएका थिए । साथै सोही कलेजका मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ जनाको टोली पाकिस्तान भ्रमणमा सहभागी भएका थिए । तालिममा सहभागीहरु स्थल, जल र हवाई सेनाका निकायहरु, महत्वपूर्ण औद्योगिक स्थल एवं समकक्षी कलेजहरुको स्थलगत भ्रमण गरी स्वदेश फर्किएका हुन् ।
सो तालिमका शिक्षार्थीहरुलाई वार्षिक रुपमा छिमेकी तथा मित्र राष्ट्रहरुमा गराइने भ्रमणमा ती देशका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधिहरुको प्रदर्शनी तथा अवलोकनको व्यवस्था मिलाइने जानकारी नेपाली सेनाले दिएको छ ।
शिक्षार्थीहरुलाई समसामयिक सैनिक विषयहरुमा ज्ञान हासिल गर्न मद्दत पुग्नुका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास नेपाली सेनाले लिएको आज जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।