विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संघीयता कार्यान्वयनपछि महत्वपूर्ण उपलब्धि हासिल भए पनि जनअपेक्षा पूरा हुन नसकेको अवस्थालाई आधार बनाएर भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।
विराटनगरमा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को उद्घाटन समारोहमा बोल्दै उनले संघीयताबाट प्राप्त उपलब्धिलाई तथ्यका आधारमा जनतासमक्ष पुर्याएर भ्रम चिर्न आवश्यक रहेको बताए ।
छ प्रदेशका मुख्यमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको सम्मेलनमा मुख्यमन्त्री शाहीले सबै नागरिकका आकाङ्क्षा पूरा हुन नसकेकाले त्यसैलाई आधार बनाएर संघीयताबारे भ्रम सिर्जना गरिएको धारणा राखे ।
‘पूरा हुन नसकेका जनअपेक्षालाई टेकेर भ्रम उत्पन्न गराइएको छ,’ उनले भने, ‘भ्रम चिर्न हामीले अझै मेहनत गर्न जरुरी छ । संघीयता कार्यान्वयनमा गएपछि धेरै उपलब्धि हासिल भएको छ र यही उपलब्धिलाई तथ्यका आधारमा प्रचार गरेर भ्रम चिर्न सकिन्छ ।’
मुख्यमन्त्री शाहीले संघीयतालाई थप बलियो बनाउन प्रदेशहरूबीचको सम्बन्ध र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिए । विकास पूर्वाधारका क्षेत्रमा प्रगति भए पनि जनताका सबै अपेक्षा पूरा हुन नसकेको उनले स्वीकार गरे ।
प्रदेशहरूबीचको सम्बन्धमा देखिएका कमी–कमजोरी सुधार गर्दै संघीयतालाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । साथै, विकासका सम्भावना पहिचान गरी तिनको उपयोग गर्न कर्णाली प्रदेश तयार रहेको उनले बताए ।




















