काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अहिले राक्षसीराज चलिरहेको टिप्पणी गरेका छन् । उनले यस्तो अवस्था कायम रहे नेशनल युथ फोर्स आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
एमालेको जनवर्गीय संगठन नेशनल भोलिन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूलाई विनाकारण पक्राउ गरी १३ दिन हिरासतमा राखेर सरकारले राक्षसी शासन सञ्चालन गरिरहेको पुष्टि गरेको दाबी गरे ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई विनाकारण हिरासतमा राखिएको उल्लेख गर्दै उनले आफू पक्राउ परेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पार्टीका नेता तथा कार्यकर्तामाथि सरकारले दुर्व्यवहार र दमन गरेको आरोप लगाए ।
उनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप भए नेशनल भोलिन्टियर्स फोर्सले प्रतिवाद गर्ने चेतावनी दिए । फोर्स देखाउनका लागि मात्रै गठन नगरिएको भन्दै उनले यसको उद्देश्य शान्ति स्थापना, परिवर्तन र गलत गतिविधिविरुद्ध खबरदारी गर्नु रहेको बताए ।
अध्यक्ष ओलीले आफू पक्राउ पर्दा शान्तिपूर्ण रूपमा सडकमा उत्रिएका युवामाथि लाठी प्रहार र दुर्व्यवहार गरिएको आरोप लगाए । त्यसबेला सरकारले गरेको दमनको प्रतिवाद गर्ने तयारी नरहे पनि त्यसबाट आफूहरूले पाठ सिकेको उनको भनाइ थियो ।
आफूले देशका लागि ६० वर्ष काम गरेको, योगदान दिएको तथा जेलनेल र यातना सहेको उल्लेख गर्दै उनले विनाकारण पक्राउ गरी हिरासतमा राखिएको आरोप लगाए । उनले यस्तो अवस्थालाई जङ्गली राज मात्र नभई राक्षसी राजको संज्ञा दिए ।
अध्यक्ष ओलीले फोर्सले आफैँ भिडन्त नखोज्ने तर कसैले आक्रमण गरे प्रतिवाद गर्न बाध्य हुने बताए । उनले संगठनको शक्ति राष्ट्रव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिँदै देशभित्र हुने बेथिति रोक्न तथा गलत गतिविधिविरुद्ध खबरदारी गर्न सक्रिय हुन आग्रह गरे ।
उनले नेशनल युथ फोर्सलाई संगठन विस्तारसँगै परिणाममुखी काममा केन्द्रित हुन पनि निर्देशन दिए ।




















