काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान-प्रदान भएको थियो ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई स्वागत गरे । साथै, उनले हालै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।
जापानी उपविदेशमन्त्री फुजी नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल-जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।




















