काठमाडौँ । नेकपा एमाले खोटाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ।
सोमबार बसेको एमाले खोटाङ जिल्ला सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि १० जना आकांक्षीको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
सिफारिस सूचीमा केन्द्रीय सदस्य विशाल भट्टराई, कोशी प्रदेश कमिटी उपसचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व केन्द्रीय सदस्य खगेन्द्र राई, पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेशसभा सदस्य पाँचकर्ण राई (पिके), पूर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ तथा अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु उपरकोटी रहेका छन्।
जिल्ला अध्यक्ष देवविक्रम राईका अनुसार सिफारिस गरिएका उम्मेदवारहरूको नाम प्रदेश कमिटीमा पठाइसकिएको छ। उनका अनुसार जिल्ला सचिवालय बैठकले सबै आकांक्षीको नाममा सर्वसम्मति जुटाएर प्रदेश कमिटीमा सिफारिस गरेको हो।
यद्यपि जिल्लाबाट १० जनाको नाम सिफारिस गरिए पनि पार्टी केन्द्रसम्म पुग्दा केन्द्रीय सदस्य विशाल भट्टराई उम्मेदवार बन्ने सम्भावना प्रबल देखिएको छ। पार्टी केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म भट्टराईको सक्रियता, योगदान, खोटाङको विकास निर्माणमा उनले गरेको पहल तथा गाउँगाउँमा कायम जनसम्पर्कका कारण अन्य उम्मेदवारको तुलनामा उनको जित सहज हुने दाबी एमालेका जिल्ला नेताहरूले गरेका छन्।




















