काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफू वा प्रधानमन्त्रीले कुनै आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्।
सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको लिखित बयानमा लेखकले बल प्रयोगसम्बन्धी आदेश दिने अधिकार गृहमन्त्रीलाई नै नभएको स्पष्ट पारेका छन्। ‘गृहमन्त्रीलाई कुनै पनि कानूनले बल प्रयोग गर्न निर्देशन दिने अधिकार दिएको छैन। त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन,’ बयानमा उल्लेख छ।
उनले बल प्रयोगका लागि लिखित वा मौखिक आदेश दिने अधिकार गृहमन्त्रीलाई नभएको र व्यवहारिक रूपमा पनि त्यस्तो आदेश दिन नमिल्ने बताएका छन्। ‘प्रदर्शनका बेला गृहमन्त्रीले बल प्रयोग गर्नेबारे लिखित वा मौखिक आदेश दिने प्रश्न नै उठ्दैन। न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ,’ लेखकको भनाइ छ।
बल प्रयोग गर्ने वा नगर्ने निर्णय फिल्डमा खटिएका सुरक्षा निकायले तत्कालीन अवस्था र आवश्यकताको आधारमा गर्ने उनले बताएका छन्। ‘प्रधानमन्त्री वा मन्त्रीले यति बल प्रयोग गर, यसरी गर भन्ने हुँदैन,’ बयानमा भनिएको छ, ‘कुन अवस्थामा कति र कसरी बल प्रयोग गर्ने भन्ने निर्णय त्यहीँ खटिएको सुरक्षा निकायले परिस्थितिको विश्लेषण गरेर गर्छ।’
कानूनले पनि सुरक्षा निकाय तथा स्थानीय तहमा तोकिएका पदाधिकारीलाई नै निर्णय गर्ने अधिकार दिएको लेखकले उल्लेख गरेका छन्।
यसैबीच, लेखकले भदौ २३ र २४ गतेका घटनालाई अलग–अलग रूपमा विश्लेषण गर्नुपर्ने बताएका छन्। भदौ २३ गते जेनजीको जायज आन्दोलनमा घुसपैठियाले प्रवेश गरी संसद् भवन जलाउन खोज्दा दुःखद घटना भएको र सो घटनामा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको उनले स्मरण गराएका छन्।
भदौ २४ गतेको घटनालाई भने उनले अपराधिक विध्वंस र नियोजित षड्यन्त्रको रूपमा व्याख्या गरेका छन्।

























