काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदान स्वरूप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारतीय राजदूतावासले आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी केही दिनभित्र सबै खोप काठमाडौं आउने जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतबाट आउने खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव व्यवस्थापन तथा सरसफाइमा कार्यरत कर्मचारी लगायतलाई उपलब्ध हुने स्पष्ट पार्नु भएको छ ।
मन्त्री त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद तथा प्रयोगका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा भइसकेको र खोप प्राप्त भएपछि खोप अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
सरकारले कूल जनसङ्ख्याको करिब ७२ प्रतिशतलाई खोपयोग्य जनसङ्ख्याको रूपमा पहिचान गरी आवश्यक खोप खरिद गरिने मन्त्री त्रिपाठीले बताउनु भएको छ ।
त्यस्तै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कोरोना विरुद्धको लडाई जित्नका लागि सबै राष्ट्रहरूबीच द्विपक्षीय तथा बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।
कोरोना महामारीको सुरुवात देखिनै नेपाल र भारतबीच आवश्यक सहयोग र सहकार्य हुँदै आएको बताउँदै राजदूत क्वात्राले महामारीको अन्त्यसम्म सहकार्य जारी रहने पनि बताउनु भएको छ ।



















