संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
बुधबार राति वर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पाँचखपन आधारभूत अस्पताल वाना लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
चट्याङ लागेर सोही ठाउँका ६४ वर्षीय पुष्पलाल कट्वाल र ६२ वर्षीय छत्रबहादुर दाहाल पनि गम्भीर घाइते भएका छन्। दुवै जनाको पाँचखपन आधारभूत अस्पताल वानामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल प्रहरी चौकी भर्तिवाल डाँडाबाट करिब चार किलोमिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।


















