कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोसी बाढीपीडितका लागि ७ लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट उक्त रकम जुटाइएको हो। सङ्कलित रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए। २०६९ वैशाख २३ गते अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले सार्दिखोलाको खारपानी बजार क्षणभरमै तहसनहस बनाएको थियो।
उक्त बाढीमा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासँगै झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो। बाढीबाट क्षतिग्रस्त खारपानी बजार अझै पूर्णरूपमा पुनःस्थापित हुन सकेको छैन।
आफूले विगतमा भोगेको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोसी बाढीपीडितका लागि सहयोग सङ्कलन गरेका हुन्। अभियानमा १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएका वडाध्यक्ष गणेश आचार्यले बताए।
उनका अनुसार सबै नागरिकसम्म पुगेर सहयोग सङ्कलन गर्न टोल विकास संस्थालाई परिचालन गरिएको थियो। राहत सङ्कलनमा सबै घरपरिवारले आफ्नो क्षमताअनुसार योगदान गरेको उनले बताए।
सङ्कलित रकममा पारदर्शिता कायम गर्न वडा कार्यालयले सरोकारवालाको उपस्थितिमा रकम सार्वजनिक गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाएको थियो।
रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मालाई हस्तान्तरण गरिएको थियो। सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले सार्दिखोला र भोटेकोसीबीच भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए। विपद्का बेला समुदाय एकअर्काको साथमा उभिनुपर्ने सन्देश सहयोगले दिएको उनको भनाइ छ।
राहत अभियानमा सहयोग गर्ने व्यक्ति, टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह तथा विभिन्न सङ्घसंस्थाको नाम र सहयोग रकमको विवरण वडा कार्यालयले अभिलेखमा राख्ने जनाएको छ।




















