काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले बिहीबार ओमानको सामना गर्दैछ। नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुने खेलमा दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो। टोलीले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो ।
समूह चरणमा नेपाली ब्याटिङ लाइनअप कमजोर देखिँदा केही संघर्ष गर्नुपरेको छ। अघिल्ला तीनवटै खेलमा दुई सयभन्दा कम रनको लक्ष्य पछ्याएको नेपालले हङकङले प्रस्तुत गरेको २ सय ६२ रनको मध्यम लक्ष्यसमेत भेट्न सकेन। ४९.१ ओभरमा २ सय ४६ रनमा अलआउट हुँदै नेपाल पराजित भयो। प्रतियोगिताभर नेपालका लागि इशान पाण्डेले हङकङविरुद्ध बनाएको ९० रन नै एकमात्र अर्धशतक हो। यसबाहेक अर्जुन कुमाल (अविजित ४५ रन), आसिफ शेख (४४ रन), र गुलसन झा (अविजित ४४ रन) ले केही सम्हालिएको इनिङ्स खेलेका थिए।
ब्याटिङ कमजोर रहे पनि नेपाली ब्याकबोनका रूपमा बलरको प्रदर्शन भने उत्कृष्ट छ। कप्तान सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले टोलीका लागि महत्त्वपूर्ण विकेट लिँदै विपक्षी टोलीलाई सस्तोमै समेट्न ठूलो योगदान दिएका छन्।
बिहीबार नै हुने अर्को सेमिफाइनलमा समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) र समूह ‘ए’ को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगिताको उपाधि जित्ने टोलीले सन् २०२७ को जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।




















