काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षसहित पदाधिकारी र सदस्यहरूले शपथ लिँदै निर्माण क्षेत्रको विकास र व्यवसायीहरूको हकहितमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।
महासंघको १३औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आजैदेखि कार्यभार सम्हाल्ने जनाएको छ। कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरू, विभिन्न जिल्ला तथा प्रदेशका निर्माण व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नवनिर्वाचित अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् भने महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन्।
प्रदेश उपाध्यक्षहरूमा कोशीबाट धिरेन्द्र दाहाल, मधेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खिमप्रकाश मल्ल, लुम्बिनीबाट शहदेव खड्का, कर्णालीबाट हिमबहादुर बुढा र सुदूरपश्चिमबाट प्रकाशबहादुर शेट्टी विजयी भएका छन्।
त्यस्तै, नीतिगत उपमहासचिवमा मंगल शाही तथा आन्तरिक उपमहासचिवमा सन्तोष साह निर्वाचित भएका छन्।
महिलातर्फ उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्वल गौतम र सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ विजयी भएका छन्।
महासंघले निर्माण क्षेत्रमा देखिएका चुनौती, भुक्तानी समस्या तथा नीतिगत सुधारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ। साथै, अधिवेशनले व्यवसायीहरूबीच एकता र सहकार्यको सन्देश दिएको सहभागीहरूको भनाइ छ।




















