काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेका हुन् ।
नयाँ सरकार गठनपछि भारतीय पक्षबाट उच्च तहमा भएको यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। भेटका क्रममा नेपाल–भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी कनेक्टिभिटी, ऊर्जा व्यापार तथा थाती रहेका विकास आयोजनाहरूका विषयमा संक्षिप्त कुराकानी भएको बताइएको छ। साथै, राजदूत श्रीवास्तवले नेपालको विकास प्रयासमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटपछि मन्त्रालयले सामाजिक सञ्जालमार्फत नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विभिन्न पक्षमा सकारात्मक छलफल भएको जानकारी दिएको छ।




















