काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै देखावटी काम (स्टन्ट) नगर्न चेतावनी दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले संसदलाई बहुमतको आधारमा निर्णय थोपर्ने थलोका रूपमा प्रयोग गर्न नहुने बताए। “यो संसद् बहुमतको मात्रै होइन, सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलो बन्नुपर्छ,” उनले भने ।
उनले देशमा बढ्दो भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध नवयुवाहरूले उठाएको आवाजले नागरिक भावनाको प्रतिनिधित्व गरेको उल्लेख गरे। “नवयुवाहरूले व्यवस्था होइन, हाम्रो अवस्थाका विरुद्ध संघर्ष गरेका हुन्,” उनले स्पष्ट पारे।
दुलालले नेपालको संविधानको मर्मअनुसार समाजवाद उन्मुख राज्य निर्माणतर्फ सरकार केन्द्रित हुनुपर्ने बताए। “सरकार एक्सनमा जाओस् तर स्टन्ट गरेर समय बर्बाद नगरोस्,” उनले भने, “राज्यको समय परीक्षण र देखावटी काममा खर्च भयो भने युवाको भावनालाई सम्बोधन गर्न गाह्रो हुन्छ।”
उनले सरकारले विभेदमा परेका वर्गसँग आममाफी मागेको विषयलाई सकारात्मक सुरुआतका रूपमा लिँदै स्वागत गरे। साथै, संविधान संशोधनदेखि जनताले प्रत्यक्ष रूपमा राखेका गुनासाहरू पनि सदनमा उठाएको जानकारी दिए।




















