काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सरकारले वैदेशिक ऋण लिने निर्णयप्रति आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो ऋण कुन नीतिगत बहस र आधारमा लिइएको हो भन्ने प्रश्न उठाइन्। “उक्त ऋण हामीले माग गरेका थियौँ कि प्रस्ताव आएको थियोरु यसको सरकारले संसद्मा जवाफ देओस्,” उनले भनिन्।
सांसद ओलीले हाल संसद् पूर्ण रूपमा संस्थागत नभइसकेको भन्दै संसदीय समिति र उपसमितिहरू गठन नहुँदा सरकारका निर्णयहरू पारदर्शी नहुने जोखिम रहेको उल्लेख गरिन्। “हाम्रो संसद् अझै शिशु अवस्थामा छ,” उनले टिप्पणी गरिन्।
उनले बजेट वितरणमा समानता कायम गर्न सरकारको ध्यानाकर्षण गराउँदै मध्यपूर्वमा बढ्दो तनावको असर नेपाली जनताको दैनिक जीवनमा परेको बताइन्। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले भान्छासम्म असर पारेको उल्लेख गर्दै उनले कर घटाएर भए पनि जनतालाई राहत दिन आग्रह गरिन्।




















