काठमाडौं । नेकपा एमालेले विधिको शासन र संविधानप्रदत्त अधिकारको कार्यान्वयनमा सरकारलाई खबरदारी गर्ने चेतावनी दिएको छ।
संघीय संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकमा एमालेले यस्तो धारणा राखेको हो। बैठकपछि एमाले नेता गुरु बरालले पत्रकारहरूसँग कुरा गर्दै कानुनको पालना र विधिको शासनलाई सुदृढ बनाउने पक्षमा पार्टी दृढ रहेको बताए ।
उनले भने, “विधिको शासनभित्र कानुनको परिपालनामा हामी कुनै विवाद गर्दैनौं। जहाँ कानुन उल्लंघन हुन्छ र विधिको शासनमा प्रश्न उठ्छ, त्यो गम्भीर विषय हो र हामी त्यसमा आवाज उठाउँछौं।”
बरालका अनुसार संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक अधिकार, राजनीतिक अधिकार तथा समानताको हक सुनिश्चित गर्न सरकारलाई सचेत गराइनेछ। उनले सरकारलाई यस्तो अधिकार प्रयोगमा कुनै अवरोध नगर्न आग्रह गर्दै त्यसो भए प्रतिवाद गर्ने चेतावनी दिए।
“सरकारले कुनै ढंगले विघ्नबाधा नल्याओस्। यदि ल्यायो भने हामी प्रतिवाद गर्नेछौं,” उनले भने।




















