काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल सुरु गरेका छन्।
आज अपरान्ह ४ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि देउवाले आफू निकट शीर्ष नेताहरूलाई निवासमा बोलाएर वर्तमान राजनीतिक तथा पार्टीको आन्तरिक अवस्थाबारे परामर्श गरेका हुन्। छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्रको अवस्था सहज नरहेकाले केन्द्रीय कार्यसम्पादन समितिबाट कुनै न कुनै निर्णय लिनुपर्ने अवस्था आएको छ।
‘पार्टीमा स्थिति राम्रो देखिएको छैन। हामी सभापतिजीको निवासमा छलफलमा छौँ। पार्टीभित्र देखिएको विवादबारे केन्द्रीय कार्यसम्पादन समितिले ठोस निर्णय लिन सक्छ,’ ती नेताले भने।
पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कदमबारे पनि गम्भीर समीक्षा हुने ती नेताले बताए।
‘केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको मिति तोकिसकेपछि विशेष महाधिवेशनको हल्ला मच्चाउनु उपयुक्त भएन भन्ने सभापतिजीको धारणा छ। महामन्त्रीहरू आफूहरू नै केन्द्रीय समिति र विधान भएको जस्तो व्यवहार गर्दै अघि बढ्नुभएको छ,’ ती नेताले आरोप लगाए।
महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको आह्वान गरेका छन्।
विशेष महाधिवेशनका लागि विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन्। यता संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरका रूपमा पुस २७ गते युवा भेला र २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको छ।




















