काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ । आज दिउँसो ४ बजेसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपा ११८ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप ७ क्षेत्रमा अग्रता कायम राखेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १५४ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले १७ क्षेत्रमा विजय हासिल गरेको छ । त्यस्तै नेकपा एमाले सात स्थानमा विजयी हुँदा ३ स्थानमा अग्रस्थानमा रहेको छ ।
आयोगको तथ्यांकअनुसार नेपाली कम्युनिस्ट पार्टीबाट हालसम्म ७ जना उम्मेदवार विजयी भएका छन् भने एक स्थानमा अग्रता कायम छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । त्यसैगरी श्रम संस्कृति पार्टीका तीनजना उम्मेद्वारले विजय प्राप्त गरेका छन् । अन्य स्थानको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।



















