नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको भनाइ र गराइमा फरक देखिएको बताएका छन्।
आइतबार भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको त्रिशूली पुगेर थापाले बाढी आएको तीन महिना पूरा हुँदासमेत पीडितहरूको पुनर्स्थापनाका लागि सरकारले कुनै पनि कार्यक्रम ल्याउन नसकेको बताए। पीडामा रहेकाहरूलाई चिसोले सताउन थालिसकेको अवस्थामा समेत सरकारले पुनर्वासको कुनै योजना अगाडि सार्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उनले उल्लेख गरे।
पीडितहरूको समस्या सुन्दै थापाले सरकारले अब ढिलो नगरी बाढी पीडितहरूको पक्षमा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए। उनले जनताको आवश्यकतालाई सम्बोधन गर्दै प्राथमिकता निर्धारण गरेर तीनै तहका सरकार क्रियाशील हुनुपर्नेसमेत बताए।
नुवाकोट, रसुवा र धादिङका बाढी प्रभावितको अवस्था प्रत्यक्ष बुझ्न सभापति थापा आइतबार दोस्रो पटक नुवाकोट आएका हुन्। उनी विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अध्ययनका लागि ती जिल्लाहरूमा पुगेका हुन्।




















