काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ भनिएको सरकार गठन भएपछि सबैभन्दा बढी पीडा जनताले भोग्नुपरेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले महँगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना गरे । दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको दाबी गर्दै उनले सरकार जनताको सुख र सहजताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए ।
जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला शासकहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन मात्रै बाँडिरहेको उनको टिप्पणी थियो ।
महासचिव पोखरेलले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सामाजिक व्यवहार तथा परम्परागत मूल्य र मान्यतामा नकारात्मक असर पारिरहेको भन्दै चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रस्तुत गर्दा मानिसको सिर्जनशीलता र मानसिक अवस्थामा समेत असर पर्न सक्ने उनले बताए ।
उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगले नेपाली समाजको परम्परा, संस्कृति र सभ्यतामाथि चुनौती थपिएको टिप्पणी गरे । लाइक र भ्युजको लोभमा मानिसहरू आफ्नै सामाजिक मूल्य र मर्यादासमेत बिर्सन थालेको उनको भनाइ थियो ।
सामाजिक सञ्जालको प्रभावबारे उनले भने, ‘हामीले यो मोबाइलको भाँडोलाई मोहनी लगाइदियौँ । यसले प्रयोगकर्तालाई मन पर्ने कुरा पहिचान गरेर त्यही सामग्री पठाइरहन्छ । यसले हाम्रो दिमागमा पारेको असरबाट समाजलाई जोगाउनुपर्नेछ । हाम्रा परम्परा, मूल्य र संस्कृतिहरूलाई समेत यसले खाइरहेको छ ।’
महासचिव पोखरेलले मुलुकको संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।



















