काठमाडौं । सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले विजयी उम्मेदवार डा. अमरेशकुमार सिंहलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सिंहलाई निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ उनले लेखेका छन्।
थापाले आफूलाई मत दिने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै विश्वासका लागि धन्यवाद दिएका छन्। ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन्।
साथै, थापाले सर्लाही–४ मा आफूले देखेका समस्या समाधानका लागि आगामी दिनमा पनि आफ्नो तर्फबाट निरन्तर पहल जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ उनले उल्लेख गरेका छन्।




















