काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न प्रहरीलाई आदेश दिएको छ।
सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै विपक्षीका नाममा बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।
अदालतले प्रसाईंको घरमा खानतलासी गर्दा बरामद गरिएका सामानसमेत पेसीका दिन उपस्थित गराउन भक्तपुर प्रहरीलाई आदेश दिएको छ।
प्रहरीले विहीबार प्रसाईंको घरमा खानतलासी गरेको थियो। उक्त क्रममा बरामद गरिएका सामग्रीसहित अदालतमा उपस्थित हुन आदेश जारी भएको हो।
प्रसाईंको घरमा खानतलासी गर्नुको आधार र कानुनी कारणबारे प्रहरीले अब सर्वोच्च अदालतमा लिखित जवाफ बुझाउनुपर्नेछ। साथै, खानतलासीका क्रममा बरामद भएका सामान पनि अदालतसमक्ष पेश गर्नुपर्ने भएको छ।




















