काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि राज्यले पटकपटक पक्राउ गरेर ज्यादती गरेको छ। विभिन्न बहानामा बारम्बार पक्राउ गर्ने, घरमै निगरानीमा राख्ने तथा खानतलासीका नाममा परिवारलाई समेत त्रसित बनाउने काम भइरहेको छ ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित कमेरोटारमा रहेको प्रसाईंको निवासमा बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले खानतलासी गरेको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरत थापाको नेतृत्वमा ठूलो संख्यामा परिचालित प्रहरी टोलीले प्रसाईंको घरमा खानतलासी गरेको थियो ।
लघुवित्तपीडितहरूको आन्दोलन प्रसाईंकै योजनामा भएको र त्यसबाट शान्तिसुरक्षामा असर पुगेको आरोपमा उनलाई पटकपटक पक्राउ गर्दै आएको बताइन्छ। तर, पक्राउपछि अदालतले कसुरको पर्याप्त आधार नदेखिएको भन्दै म्याद थप नगर्ने वा रिहा गर्ने आदेश दिएपछि प्रसाईं छुट्दै आएका छन्। तर रिहा भएको केही समयमै विभिन्न नयाँ बहाना बनाएर पुनः पक्राउ गर्ने क्रम बारम्वार दोहोरिएको छ।
पछिल्लो खानतलासीका क्रममा प्रहरीले प्रसाईं र उनका सहयोगीहरूले प्रयोग गर्दै आएका ६ थान मोबाइल जफत गरेको छ भने एक थान ल्यापटप र सीसीटीभीको डीभीआर बक्ससमेत नियन्त्रणमा लिइएको छ। उनको घरमा प्रहरीबाट २४ घण्टै निगरानी गरेर सहज रुपमा हिडडुल गर्न समेत नदिएको आफूहरुलाई समेत अप्रत्यक्ष रुपमा असर पुर्याएको छिमेकीहरुको गुनासो छ ।
मेडिकल कलेज, अस्पताल, विद्यालय, होटल तथा कृषिबजारलगायतका व्यवसाय सञ्चालन गर्दै गरिव, दुखी, असहायको निशुल्क उपचार गर्दै आएका प्रसाईंले पाँच हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको र राज्यलाई करोडौं रुपैयाँ राजस्व बुझाउँदै आएका उनीमाथि भइरहेको व्यवहारले उनको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामै असर परेको जनाएको छ।
एक व्यवसायीमाथि गम्भीर अपराधीसरह व्यवहार गरिनुले स्वदेशमा लगानी गर्ने वातावरणमाथि समेत नकारात्मक सन्देश जान उद्योगी व्यवसायीहरुले बताएका छन् ।
प्रसाईंले लघुवित्त तथा सहकारीपीडितहरूको पक्षमा आवाज उठाउँदै विभिन्न शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै आएका छन्। राज्यका विभिन्न निकाय तथा व्यक्तिबाट सर्वसाधारणमाथि हुने अन्याय र अत्याचारविरुद्ध निरन्तर बोल्दै आएकाले उनको आवाज दबाउन राज्य संयन्त्रको दुरुप्रयोग भइरहेको जानकारहरु बताउँछन् ।
गत भदौ २३– २४ को जेन्जी आन्दोलन हाइज्याक गरेर विदेशी योजनामा देश जलाउनेहरु नै अहिले मन्त्री, सांसद भएको आरोप लगाउँदै प्रसाईले प्रमाणसहित समेटिएको भिडियो सामग्री प्रशारण गरेका थिए । उनले अझै धेरै प्रमाणहरु आफूसँग रहेको दावी पत्रकार सम्मेलन गरेका थिए । सायद त्यही उनीसँग छ भनिएको प्रमाण मेटाउन प्रसाईको घर खानतलासी गरिएको हुन सक्ने आशंका गरिएको छ । आफूलाई लामो समय थुनामा राख्ने सरकारको षडयन्त्र प्रमाणको अभावमा पूरा नभएको भन्दै प्रसाईले सरकारकै योजनामा प्रहरीले आफै हतियार, लागू औषध राखिदिएर फसाउन सक्ने चिन्ता पन व्यक्त गरेका छन् ।
पक्राउ, निगरानी तथा खानतलासीका घटनाबाट आफू र परिवारलाई दबाब र त्रासमा पार्ने प्रयास भइरहेको गुनासो गर्दै प्रसाईंले भने जुनसुकै दुःख र कष्ट सहनुपरे पनि गरिब, दुःखी तथा पीडित नागरिकको पक्षमा आवाज उठाउन नछोड्ने बताएका छन् ।




















