काठमाडौं । महाकाली वाइन प्रा.लि.का तत्कालिन प्रवन्ध निर्देशक सन्तोष खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महाकाली वाइनको वितरक कम्पनी अल्ट्राब्ल्याक्स इन्टरनेशनल प्रा.लि र अल्ट्रा ट्रेड प्रा.लि.का अध्यक्ष तथा सञ्चालक बबिन अधिकारी भने फरार छन् । उनीहरुविरुद्ध अन्य शेयरधनी तथा सञ्चालकले दिएको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि खड्कालाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गरेको हो भने फरार अध्यक्ष अधिकारीको खोजी भइरहेको बताइएको छ ।
खड्का र अधिकारीको मिलेमतोमा कम्पनीका अन्य शेयरधनी तथा सञ्चालक किस्मत अधिकारीलगायतलाई विश्वासघात गरी करिव १५ करोड हिनामिना गरी विगत २ वर्षदेखि कम्पनीको सम्पर्कविहीन भएका थिए । कम्पनीका अन्य सञ्चालकहरुले हिसाव किताव मिलाउन ताकेता गर्दा पनि वेवास्ता गरेकाले उनीहरुविरद्ध जाहेरी दिएको संचालक किस्मत अधिकारीले बताएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता गरिएको जाहेरीमा कम्पनीका अध्यक्ष तथा सञ्चालक बबिन अधिकारी र प्रवन्ध सञ्चालक खड्काविरुद्ध विश्वासघात, कर छली तथा आपराधिक विश्वासघातसम्बन्धी आरोप लगाइएको छ ।
जाहेरी अनुसार कम्पनीका पूर्व सञ्चालक तथा शेयरधनीले आफूलाई जानकारी नदिई लाभांश वितरण गरिएको, आफ्नो नाममा स्रोतमा कर कट्टी गरिएको तथा सम्बन्धित कर कार्यालयमा विवरण पेश गरिएको आरोप लगाएका छन् । उजुरीकर्ताले यसबाट आफ्नो प्यान नम्बरसमेत दुरुपयोग भएको दाबी गरेका छन् ।
जाहेरीमा कम्पनीका सञ्चालक समितिको बैठक र विशेष साधारणसभामार्फत लाभांश वितरण गर्ने निर्णय गरिए पनि सम्बन्धित शेयरधनीलाई जानकारी नदिइएको उल्लेख छ । साथै कर कट्टी गरिएको विवरण पछि मात्रै आफूले थाहा पाएको दाबी गरिएको छ ।
प्रहरी स्रोतका अनुसार जाहेरीका आधारमा थप अनुसन्धान भइरहेको छ ।



















