काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रश्न उठाएको छ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले विरोध जनाएका थिए। सभामुखबाट समय पाएपछि कांग्रेसका तर्फबाट बोल्दै सांसद रेनुका काउचाले संविधान र प्रचलित कानुनले १८ वर्षमुनिका व्यक्तिलाई राजनीतिक दलको सदस्य बन्न नदिने व्यवस्था गरेको बताइन्।
उनले रास्वपाको सदस्यता विवरणमा १८ वर्षमुनिका ३५ हजार २५७ जना रहेको उल्लेख गर्दै यसप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताइन्। “रास्वपा संविधानभन्दा माथि छ ?” भन्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ अनुसार कुनै पनि राजनीतिक दलको सदस्य बन्न नेपाली नागरिक हुनुका साथै १८ वर्ष उमेर पूरा गरेको हुनुपर्छ। तर रास्वपाले हालै सम्पन्न आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २५७ जनालाई सदस्यका रूपमा समावेश गरेको विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो।
चितवनमा सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार रास्वपाको कुल सदस्य संख्या पाँच लाख २३ हजार ४६५ रहेको छ। यसमध्ये ६.७ प्रतिशत सदस्य १८ वर्षमुनिका रहेको उल्लेख गरिएको छ।
यस्तै, बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि १८ वर्ष पूरा नगरेका व्यक्तिलाई बालबालिकाको परिभाषामा राख्दै उनीहरूलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरेको छ। ऐनको दफा ७ को उपदफा (७) मा कुनै पनि बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ।
यस्तो कानुनी व्यवस्थाविपरीत रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा संसद्मै प्रश्न उठे पनि यसबारे रास्वपाका नेताहरूले औपचारिक प्रतिक्रिया दिएका छैनन्।




















