काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएकी छन्। उनले हतारमा निर्णय गर्दा विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले कक्षा १२ को परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटि देखिएको दाबी गर्दै त्यसबारे निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरिन्।
उनले राष्ट्रिय परीक्षा बोर्डले नतिजा छिटो सार्वजनिक गर्ने प्रयासमा प्रक्रियागत कमजोरी गर्दा हजारौँ विद्यार्थी र अभिभावक समस्यामा परेको बताइन्। करिब ३० दिनभित्र नतिजा सार्वजनिक गर्नु उपलब्धि हुन सक्ने भए पनि त्यसले नतिजाको विश्वसनीयतामै प्रश्न उठाउने अवस्था सिर्जना गरेको उनको भनाइ थियो।
सांसद गुरुङले माइतीघर मण्डलामा न्यायको माग गर्दै आन्दोलनरत विद्यार्थीप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइन्। नतिजा प्रकाशनमा भएको लापरवाहीबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनको माग थियो।
हाल गठन गरिएको छानबिन समिति केवल औपचारिकतामा सीमित हुन नहुनेमा जोड दिँदै उनले नतिजाको शुद्धतामा असर पर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय भएको बताइन्। साथै, रिटोटलिङका नाममा विद्यार्थीबाट शुल्क असुल्ने प्रचलन अन्त्य गरी निःशुल्क पुनर्मूल्यांकनको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।
उनले भनिन्, “छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ। तर नतिजाको शुद्धतामै असर पर्ने गरी प्रक्रिया कमजोर बनाइनु स्वीकार्य छैन। सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा, शुभकामना र साथ छ। तर हरेक विषयमा प्रश्नै–प्रश्नले घेरिने गरी सरकार ओभर स्मार्ट बन्न नलागोस्।”
सांसद गुरुङले पुनर्योग (रिटोटलिङ) का लागि विद्यार्थीले तिर्नुपर्ने चर्को र अव्यवहारिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग पनि गरिन्। विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका र परीक्षा राम्रो दिएका विद्यार्थीसमेत हालको नतिजाबाट असन्तुष्ट हुनु परीक्षा प्रणाली तथा कोडिङ–डिकोडिङ प्रक्रियामै गम्भीर समस्या रहेको संकेत भएको उनको दाबी छ।




















