काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको खेलमा अर्जेन्टिनाले ३–१ को जित दर्ता गर्दा कप्तान लियोनेल मेस्सीले अर्को ऐतिहासिक कीर्तिमान बनाएका छन्।
खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा शानदार फ्री किकमार्फत गोल गरेका हुन्। डी बक्सबाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि अर्जेन्टिनाले पाएको फ्री किकलाई उनले सिधै गोलमा परिणत गरेका थिए।
जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल हो। यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए भने अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए।
यस गोलसँगै मेस्सीको विश्वकपमा कुल गोल संख्या १९ पुगेको छ, जुन नयाँ कीर्तिमान बनेको छ। मेस्सीको गोलपछि अर्जेन्टिनाले खेलमा ३–१ को अग्रता बनाएको थियो र सोही नतिजासहित जित हासिल गर्न सफल भयो।




















