काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमत संघीयता खारेज गर्न नभई संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि भएको बताएका छन्।
चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनले प्रदेश खारेजीको विषयलाई पार्टीको दस्तावेजमा औपचारिक रूपमा समेटेपछि त्यसको विरोध गर्दै दुलालले रास्वपाको उक्त नीति जनादेशविपरीत भएको टिप्पणी गरे।
उनले प्रदेश संरचनाविना संघीयता सम्भव नहुने उल्लेख गर्दै रास्वपाले संघीय व्यवस्थाको आधारभूत सिद्धान्त नै नबुझेको आरोप लगाए। उनले भने, “तपाईंहरूलाई प्राप्त जनमत संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि हो, संघीयता खारेजीका लागि होइन। प्रदेशको उपस्थितिविना संघीयता रहँदैन भन्ने राजनीतिको आधारभूत ज्ञान छैन भने राजनीति पढेर राजनीति गर्न सुझाव दिन्छु।”
दुलालले निर्वाचनका बेला रास्वपाले मधेस, सुदूरपश्चिम र कर्णालीजस्ता विकासमा पछाडि परेका प्रदेशमा गएर प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै मत मागेको स्मरण गराए। तर, अहिले तिनै संरचना खारेज गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका भएको उनको भनाइ थियो।
उनका अनुसार निर्वाचनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले समेत मधेसमा आयोजित पार्टी कार्यक्रममा प्रदेश संरचनालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
दुलालले अहिले प्रदेश खारेजीको कुरा गर्नु विगतमा सुकुम्बासी बस्तीमा डोजर नचल्ने आश्वासन दिएर पछि डोजर चलाएको घटनासँग मिल्दोजुल्दो भएको टिप्पणी गरे। जनतासँग एउटा कुरा गरेर सत्तामा पुगेपछि अर्को नीति अपनाउनु धोका, छल र बेइमानी भएको उनको आरोप थियो।
उनले कानुनको शासनमै लोकतन्त्र सुदृढ र समृद्ध बन्ने उल्लेख गर्दै नेपालमा ओलिगार्की वा अटोक्रेसीजस्ता तानाशाही प्रवृत्तिले स्थान पाउन नहुने बताए।




















