काठमाडौं । नेकपा एमालेले सीमा विवादसम्बन्धी अभिव्यक्तिका कारण प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) ले देशसँग माफी माग्नुपर्ने माग गरेको छ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुखले समय दिएपछि एमालेका सांसद पुष्पराज कंडेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै त्यसबारे सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका हुन्।
सांसद कँडेलले भने, ‘राष्ट्रघाती अभिव्यक्तिका लागि प्रधानमन्त्रीजीले देशसँग माफी माग्नैपर्छ।’
गत जेठ १७ गते संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री बनेपछि मात्रै भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइप्रति विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन्। एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भएको दाबी गर्दै उक्त टिप्पणी संसद्को अभिलेख (रेकर्ड) बाट समेत हटाउन माग गरेको छ।




















