विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजहरू अन्तर्गत रहेका ७ वटा सुरुङ मध्ये धेद्रे तथा लेनडाँडामा रहेका २ वटा सुरुङहरू छिचोलिई सकिएको छ भने महादेवटार स्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न हुनुका साथै चन्द्रामभिर स्थित सुरुङको निर्माण कार्य सुरु भएको छ र अन्य ३ वटा सुरुङहरूको डिजाइन तथा पूर्व तयारीको कार्य भई रहेको छ ।
त्यस्तै, उक्त आयोजनामा निर्माण गर्नु पर्ने ८९ वटा पुलहरू मध्ये ८० वटा पुलहरूको निर्माण कार्य भई रहेको छ भने ५ वटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ । काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ माघ ०४ गते निर्माणाधीन काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन भ्रमण गर्नुभएको थियो ।
भ्रमणको दौरान सम्माननीय राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा Slope Protection का साथै आयोजनाको विभिन्न स्थानहरुको हवाई अवलोकन गर्नु भएको थियो ।
अवलोकन भ्रमणका अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देल, आयोजना प्रमुख, मध्य पृतनापति, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।